Comments Add Comment

मकवानपुरगढीमा गाईलाई देखियो ‘लम्पी स्किन’ रोग

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ मा ३ वटा गाईमा ‘लम्पी स्किन’ रोग देखिएको छ । स्थानीय मधुसुधन दाहालको लक्ष्मी नाराणयन बहुद्धेश्यीय कृषीफर्मका ८ वटा गाईहरुको स्वाब संकलन परिक्षण गर्दा ३ वटा गाईहरुमा ‘लम्पी स्किन’ रोग पुष्टी भएको गाउँपालिकाको पशुपन्छी बिकास शाखा प्रमुख सत्यनाराण शाहले बताए ।

रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा, सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने र दुध उत्पादन समेत घट्ने शाहले बताए ।’लम्पी स्किन’ रोगको खास उपचार नभए पनि गाईभैंसीमा लक्षण देखिए नजिकको पशु प्राबिधिकलाई सम्पर्क गर्न शाहले आग्रह गरे । छिमेकी देश भारत हुँदै नेपाल भित्रिएको यो रोगका कारण गाईहरु मरेका पनि छन् ।

यो रोगबारे गाउँपालिकाले शनिबार अन्तरक्रियाकार्यक्रम समेत गरेको छ । अन्तरक्रियामा  ‘लम्पी स्किन’ रोगका कारण गाईको मृत्युदर कम रहेको बताउँदै शाहले पशुपालक कृषकहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनले रोग सर्न नदिनका लागि रोगी गाईभैंसीलाई कम्तीमा १५ दिन सम्म छुट्टै राख्ने, गोठमा लामखुटे तथा झिंगा नियन्त्रण गर्ने, भिरकोन स्प्रे गर्नुपर्ने बताए । यो रोग मानिसमा नसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रो संँग उमालेर पिउन सकिने उनले बताए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान्, वडाअध्यक्ष भागबत घिमिरे, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, श्रमिक साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर