हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आउँदो माघ ११ गतेबाट २३ गते सम्म महोत्सव हुने भएको हो । संघले बुधबार पत्रकार सम्मेलन गर्दै हेटौंडा –१० स्थित टिसिएन चौरमा १३ दिन महोत्सव गर्न लागिएको संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए । देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिन लागिएको गुप्ताले बताए ।
महोत्सवमा ३ सय स्टलहरु रहने र २ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरिने अनुमान गरिएको जनाइएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन तथा सेवाहरुको बृहत व्यापार मेला, सूचना प्रविधि, हस्तकला प्रर्दशनी, कृषि उत्पादनको प्रदर्शनी, क्रेता विक्रेता अन्तरक्रिया कार्यक्रम, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरका व्यावसायिक गोष्ठी तथा सेमिनार, शैक्षिक, घरजग्गा, अटो, खाना तथा साँस्कृतिक मेला, पर्यटन प्रवद्र्धनका विविध कार्यक्रमहरु, बाल उद्यानको व्यवस्था, राष्ट्रिय स्तरका उद्योगहरुको उत्पादन प्रर्दशनीहरु हुने गुप्ताले बताए ।
त्यस्तै बहुराष्ट्रिय, राष्ट्रिय तथा ठूला साना उद्योगहरुका उत्पादनहरु, कृषि उत्पादनहरु, स्थानीय उत्पादन, सेवा तथा उपजहरु, महिला उद्यमीबाट उत्पादित सामाग्रीहरु, वित्तिय तथा सेवामूलक संघसंस्थाहरुको सेवा, पर्यटन प्रवद्र्धनका सामाग्रीहरु, सवारी साधनहरु (हेभी इक्वीपमेन्ट), होटल–रेष्टुरेण्ट, शैक्षिक तथा परामर्श सेवा, घरेलु तथा हस्तकलाका सामाग्रीहरु, घर जग्गा तथा हाउजिड्ड, हेलिकप्टर टुर, खाना महोत्सव, हेटौंडा आइडल, डान्सिङ स्टार प्रतियोगिता लगायतलाई समेटिने संघले जनाएको छ । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षहरु प्रमोदसिं रानाभाट, उज्वल चौलागाई, महासचिव दीपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।