पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा जित निकालेसँगै पोर्चुगलले एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान बनाएको हो । दक्षिण अमेरिकी देश उरुग्वेमाथि पोर्चुगलले २–० को जित दर्ता गरेको हो । जितमा दुवै गोल ब्रुनो फेर्नान्डेसले गरेका हुन् । उनले ५४ औँ मिनेटमा गोल गरे ।

यस्तै इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघिल्लो चरणको यात्रा पक्का गराएका हुन् । समूह एचमा रहेको पोर्चुगलले पहिलो खेलमा घानालाई पराजित गरेको थियो । दुई खेलबाट ६ अंक जोडेको पोर्चुगलले समूह चरण अन्तर्गत अब दक्षिण कोरियासँग खेल्न बाँकी छ । दोस्रो खेलमा गोल गर्न नसके पनि क्रिष्टियानो रोनाल्डोको उपस्थिति प्रभावकारी मानिएको छ । उनले पहिलो खेलमा गोल गरेका थिए ।