Comments Add Comment

म प्रति जनताको आशा, विश्वास र भरोसा छ : ईन्द्र बहादुर बानियाँ

चुनावी रणनीतिका लागि माहिर रहेका ईन्द्रबहादुर बानियाँ मकवानपुुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुन् । नेपाली कांग्रेसको बागमती प्रदेश सभापति रहेका बानियाँले गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि मकवानपुर २ (ख) बाटै प्रदेशसभा सदस्यमा विजयी भएका बानियाँले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताको रुपमा ५ वर्षे कार्यकालसमेत पूरा गरिसकेका छन् । लोकतान्त्रिक बाम गठबन्धनको औचित्य र आवश्यकता, आगामी योजनालगायतको विषयमा रहेर बानियाँसँग गरिएको कुराकानीः

 तपाईको उम्मेदवारी किन, मतदाताले तपाईबाट के अपेक्षा गरेका छन्, जानकारी लिनुभयो ?

मेरो उम्मेदवारी भनेको जनताको सेवा गर्नको लागि हो । मैले यसअघि निर्वाचित भएर जनताको पक्षमा गरेका कामहरु हेररै पनि मेरो उम्मेदवारी किन र मैले किन जित्नुपर्छ भन्ने कुरा प्रष्ट हुन्छ । मकवानपुरको अधिकांश विकट भेग मेरो निर्वाचन क्षेत्रमा पर्दछ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका साथै र हेटौंडाको वडा नम्बर ३ र १९ मकवानपुर क्षेत्र नम्बर २ (ख) मा पर्दछन् । मनहरी र हेटौंडाको केही भाग बाहेक अधिकांश भाग भौगोलिक हिसाबले विकट छ । यसअघि पनि म आफ्नो निर्वाचन क्षेत्रको गाउँ टोलमा पुग्ने गरेको छु र सद्भाव नै पाउने गरेको छु ।

अहिले पनि चुनाव लक्षित अभियान लिएर जनतामाझ पुग्दा जनताको माया र सद्भाव नै पाएको छु । म प्रति जनताको आशा, भरोसा र विश्वास जोडिएको छ । हाम्रो दुःखसुखमा हेर्ने मान्छे र्ईन्द्रबहादुर बानियाँ हो भन्ने आत्मविश्वास सबैमा रहेको पाइयो । स्थानीयस्तरमा आफैं पनि सर्र्वसाधारणले मेरो पक्षमा मत मागरिरहनु भएको पाएँ । मतदाताको यही हौसला र प्रेरणाका साथ चुनावी प्रचारप्रसारको अभियानलाई उत्साहपूर्ण ढंगबाट सम्पन्न गरिएको छ । अब यही उत्साहका साथ मतदाताहरु मतदानको प्रक्रियामा सबै सहभागी हुनु हुनेछ । विकास लिएर निरन्तर पुग्ने र व्यक्तिगत समस्या समाधानमा पनि म तल्लिन रहन्छु भन्ने उहाँहरुमा आत्मविश्वास पाएँ, आम मतदाताको आत्मविश्वास नै मेरो अमूल्य सम्पत्ति हो, त्यसैले आगामी निर्वाचनमा मेरो पक्षमा मतदाताले मत खसाल्नेमा म ढुक्क छु ।

️ मतदाताहरु के भन्छन्, उनीहरुको आवश्यकताहरुको कतिको पहिचान गर्नुभयो ?

आगामी निर्वाचनमा आफ्नो अधिकार प्राप्त गर्नमा मकवानपुरे मतदाताहरु निकै उत्साहित रहेका छन् । आफ्नो अधिकार प्रयोगबारे भुगोलको हिसाबले विकट भए पनि मतदाताहरु सचेत भएको पाएको छु । मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन र उम्मेदवारहरुबारे उहाँहरुले आफ्नो क्षेत्रमा छलफल गरिरहेको पाएँ । सञ्चार माध्यम र सामाजिक सञ्जालबाट उहाँहरु यसबारे अपडेट रहेको पाएँ । चुनावी घरदैलोमा आएका उम्मेदवारहरुबारे पनि उहाँहरुले धारणा बनाएको पाएँ । शहरी क्षेत्रमा मात्रै हैन ग्रामिण भेगसम्म पनि निर्वाचनबारे मतदाताहरुमा चेतना बृद्धि भएको पाएको छु । यो सचेतना अभिबृद्धिमा सूचना प्रविधिको ठूलो भूमिका रहेको पाएँ । निर्वाचनलाई लिएर उहाँहरुमा सकारात्मक प्रतिक्रिया पाएको छु । उनीहरुको आवश्यकताबारे म विगतमा पनि जानकार नै थिएँ । सोही अनुसार मैले विकासका कामहरु पनि गरेकै छु । अब पनि म सोही विकास निर्माणको कामलाई निरन्तरता दिने नै छु ।

 

उम्मेदवारहरुले स्थानीय मुद्धालाई ध्यान दिएनन् भन्ने गुनासो छ नि, हरेक भाषणमा राष्ट्रिय राजनीतिको विषयलाई जोडेर आरोप प्रत्यारोपको कुराहरु मात्रै आयो भनिन्छ । के तपाईले स्थानीय मुद्धाको विषय बेवास्ता गर्नुभएको हो र ?

स्थानीय मुद्धालाई बेवास्ता गरेको हुँदै होइन । चुनावी अभियानको मुल उद्देश्य नै स्थानीय समस्या र त्यसको समाधानको बारेमा मतदाताहरु माझ हाम्रो प्रतिवद्धता अवगत गराउने हो । चुनावी सभामा देशको परिस्थितिबारे पनि मतदातालाई केही विषयमा अवगत गराउनु आवश्यक हुन्छ नै । अहिले लोकतान्त्रिक बाम गठबन्धन भएको छ । यसको औचित्यबारे पनि मतदातालाई बुझाउनु जरुरी थियो । मुलुकको अहिलेको व्यवस्था जोगाउनको लागि पनि गठबन्धनको आवश्यकता रहेको थियो । यसबारे जनतालाई हामीले प्रष्ट पार्नुपर्ने थियो र पार्यौं। तर मूख्य ध्यान स्थानीय मुद्धामा हाम्रो धारणा राख्ने नै रहेको छ ।
विकट क्षेत्रको जीवनस्तर सुधारका लागि विकासका पूर्वाधारहरु सडक, खानेपानी, शैक्षिक संरचनासहित आयआर्जनमार्फत आयस्तर बृद्धिका मुद्धा नै हाम्रा मुल मुद्धा हुन् । त्यसैले हामीले यसबारे मतदातालाई हाम्रो एजेण्डा बताएका छौं । बाह्रै महिना यातायात संचालन हुने सडक, शिक्षामा गुणस्तरीय पूर्वाधार र जनशक्तिको व्यवस्था, स्वास्थ्यमा सहज पहुँच, विपन्न परिवारको निःशुल्क विमा, स्थानीय स्तरमै रोजगारी र स्वरोजगार हुने अवसर लगायतका विषयमा हामीले त्यस क्षेत्रका मतदातामाझ प्रतिबद्धता जनाएका छौं ।

 

उम्मेदवारहरु चुनावमा मात्र देखिन्छन्, भनेर वितृष्णा पनि छ नि ?

मेरो सवालमा यो लागू हुँदैन । म सधैं जनताको हरेक समस्यामा सँगै छु । विकास निर्माणमा प्रत्यक्ष जोडिएको छ । यसअघि मलाई माया गरेर विजयी गराएपछि नेपाली कांग्रेस लामो समय संघदेखि प्रदेशसम्म प्रतिपक्षमा रहेको थियो । त्यस्तो अवस्थामा पनि मैले आफ्नो क्षमताले भ्याएसम्म विकास र सहयोग गरेको बारे यस क्षेत्रका मतदाता जानकार हुनुहुन्छ । स्थानीयस्तरमा पनि पार्टीको संरचना सधैं जनतासँग जोडिएको छ । कोरोना महामारीमा चामल तरकारीको बोरा बाकेर होस् या जाडोमा विपन्न समुदायलाई न्यानो कपडाको पोको बोकेर होस् म सँधैं जनताको साथमै छु ।
सरकारमा नहुँदा व्यक्तिगत ढंगले सडक, खानेपानी लगायतका पूर्वाधारको काम गरिरहेको छु भने पछिल्लो पटक गठबन्धनको सरकार हुँदा करिब ४ बर्ष अघिल्लो सरकारले गर्न नसकेको विकास योजना एक बर्षमा त्यस क्षेत्रमा पुर्‍याएको छु । मैले मतदाता र शुभेच्छुकबाट निकै धेरै माया पाएको छु । म प्रति गुनासो गर्ने ठाउँ दिएको छैन । मंसिर ४ गते आदरणीय मतदाताहरुले मलाई मतदान गरेर यसको जवाफ दिनु हुनेछ ।

 

गाँजालाई बैधानिकता गर्ने कुरा चुनावी ‘फन्डा’ मात्रै हो कि साँच्चै काम पनि गर्नुहुन्छ ?

मकवानपुरको पश्चिमी भेग गाँजा खेती हुन्छ भन्ने थाहै छ । राज्यले यसलाई गैरकानूनी कार्यको रुपमा मानेको छ । तर पछिल्लो समय विश्व स्वास्थ्य संगठनले यसलाई औषधीजन्य वनस्पतिको रुपमा लिईसकेको छ । नेपालमा भने यसलाई कानूनी रुपमै अवैध मान्नुको औचित्य अब सकियो । यसलाई खुला छोड्नुपर्छ भन्ने होइन तर, बैधानिक गरी व्यवस्थित खेती गरेर औषधिको रुपमा प्रयोग गर्न विदेश निर्यात गर्नुपर्छ ।
गाँजा बैधानिकता गर्न कानून निर्माण गर्न हामी लाग्नेछौं । जीविकोपार्जनका लागि गाँजा ओसारपसार गर्दा त्यस भेगका धेरै नागरिक कारागारमा पुगेका छन् । त्यस क्षेत्रमा भुगोलमा अन्य खेती समेत राम्रो नहुँदा जीविकोपार्जन गर्नका लागि गाँजा खेति गर्ने किसान र ओसारपसारमा संलग्न सोझा नागरिक जेल पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा छ । कानूनी ढंगबाटै यसको निरुपणका लागि हाम्रो पहल हुन्छ ।
तर गाँजालाई बैधानिक गर्ने भन्दैमा किराना पसल, पान पसल, तरकारी पसलमा पाइने अन्य सामग्री झैं गाँजाको बिक्री वितरण सहज भने हुँदैन । यसलाई राज्यको निगरानीमा व्यवस्थित खेती गर्दै औषधीजन्य प्रयोजनका लागि स्वदेशमा प्रशोधन गरी विदेश निर्यात गरेर बैदेशिक मुद्रा आर्जन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । गाँजा खेती मात्रै हैन यस क्षेत्रमा अन्य नगदेबालीमा हाम्रो निरन्तर जोड रहनेछ र यसको राज्यबाट नीतिगत सहयोग जुटाईनेछ ।

 

दोस्रो पटक पनि तपाईलाइ मतदाताले मतदान गर्नुपर्ने कारण के छ ?

मेरो राजनीतिक उद्देश्य भनेको विशुद्ध समाजसेवा हो । सेवा भावको पवित्र उद्देश्यलाई जनताले पनि बुझिसकेका छन् । जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैं जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु । राज्यस्तरबाट हुन नसकेका कतिपय काम आफ्नो व्यक्तिगत सहयोगबाटै पुरा गरिरहेको छु । यसबारे मेरो निर्वाचन क्षेत्रका मतदातालाई अवगत छ । म विकास र जनताको जीवनस्तर सुधारका लागि बागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु । जनताको व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकोले पनि मेरा मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ । म पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु, उहाँहरुको मतबाट बिजयी हुनेमा ढुक्क छु ।

 

मतदातालाई तपाईको आग्रह केही छ कि ?

मतदान आत्मदान भएकाले सही व्यक्तिको छनौट यहाँहरुले अवश्य गर्नुहुनेछ । अहिलेको मतदानले ५ बर्ष र त्यसपछिसम्मका लागि कस्तो नीति, कस्तो नेतृत्व र कस्तो विकासको मोड अघि बढ्छ भन्ने तय हुने भएकाले विवेकपूर्ण ढंगले मतदानका लागि मेरो विनम्र अनुरोध छ । म मेरा आदरणीय मतदाताहरुलाई विगतमा गरेको काम र मैले अघि बढाएको विकासको एजेण्डा अनुसार समग्र बागमती प्रदेश र मकवानपुर क्षेत्र नम्बर २ (ख) को विकासका लागि आफ्नो अमूल्य मतको लागि अपिल गर्दछु ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै