राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदाताहरुलाई यसपटक मत फेर्नुस पार्टी नफेर्नुस भनेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत मंगलबार हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो भनेका हुन् । उनले ठूला राजनीतिक दलको झुटा आश्वासन धेरै हेरिएको भन्दै आसन्न निर्वाचनमा मत फेर्न सबैलाई आग्रह गरे । उनले भने, ‘ठूला राजनीतिक दलको झुटा आश्वासन यसभन्दा अघि पनि धेरै हेरियो, अब मत फेर्ने समय आएको छ ।’

वैदेशिक रोजगारीमा गएका यूवाहरुलाई नेपाल फर्क अभियान नै संचालन गरेर देशमै स्वरोजगार श्रृजना गर्ने योजनासहित राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको उनको भनाई छ । उनले निर्वाचनमा विजयी भएपनि नभएपनि समस्या पर्दा सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले समाजमा चेलिबेटीमाथि भएको विभेद अन्त्य गर्न सधै आवाज उठाउने बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन आफ्नो पार्टी आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई बढी प्राथमिकता दिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा क्रमशः टाकाराज थापा ‘सुरेश’ र भरत पराजुली उम्मेदवार रहेका छन् ।