शुभ दिपावली २०७९ को अवसरमा शनिबारबाट सुरु भएको फुटबल प्रतियोगिता अन्तर्गत आईतबारको पहिलो खेलमा साहारा टोल विकास समिति विजयी भएको छ । हेटौँडा– १३ बनस्पतिस्थित जनहित युवा समुहको आयोजनामा जारी फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बिन्दावासिनी टोल विकास समिति ए लाई ३–१ गोल अन्तरले पराजित गर्दै साहारा विजयी भएको हो ।

साहाराको तर्फबाट ६ नम्बर जर्सीका प्रदिप लामाले २ गोल र रमेश प्रजाले १ गोल गरेका थिए भने बिन्दावासिनीको तर्फबाट जर्सी नम्बर १० का सन्तलाल घलानले १ गोल फर्काएका थिए । त्यस्तै, प्रतियोगिता अन्तर्गत आईतबारको दोश्रो खेलमा जडीबुटी ए लाई पेनाल्टी सुट आउटमा पराजित गर्दै नमुना टोल ए विजयी भएको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी भएपछि पेनाल्टी पाएको थियो ।

त्यस्तै आईतबारको तेस्रो खेलमा बिन्दावासिनी बि ले जडीबुटी सि लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । बिन्दावासिनीको तर्फबाट विशाल लामा र सन्तोष स्याङबोले एकएक गोल गरेका छन् भने जडीबुटी सि को तर्फबाट संयोग राईले सान्त्वना गोल फर्काएका थिए । प्रतियोगिता अन्तर्गत सोमबार बिहान ८ बजे बनस्पति बि र जडीबुटी बि बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल ९ गते हुने छ ।