रास्वपा सरकारबाट बाहिरिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो । आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसअघि बिहीबार बसेको बैठकमा पनि त्यसबारे छलफल भए पनि प्रधानमन्त्री दाहालले त्यसबारे छलफल गर्न दुई दिनको समय मागेकोमा प्रतिबद्धताबमोजिम प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन इन्कार गरेपछि रास्वपाले सरकार छोडेको हो । नागरिकताको विषयमा छानबिन चलिरहेकै बेला स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिएका लामिछानेले पुनः त्यही मन्त्रालय नपाएको झोंकमा उनको पार्टी नै सरकारबाट बाहिरिएको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीले दिएको समर्थन कायम राखेर पार्टीबाट बनेका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताए । सरकारबाट बाहिरिएपछि अब रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले पदबाट राजिनामा दिएका छन् । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन् ।

अनलाइनपत्र संवाददाता

Next Post

रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

Mon Feb 6 , 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् । रास्वपाले आइतबार […]

सम्बन्धित खबर