मकवानपुरगढीमा हुने जोडी दौड (श्रीमान–श्रीमती) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको नव जागृत क्लवको आयोजनामा कार्तिक ५ गते अर्थात भोली शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् ।

क्लवले मकवानपुर जिल्लामा नै पहिलो पटक मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ स्थित धादिङ्गमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष रामकुमार खड्काले बताए । नेपालीहरुको चाड दिपावली तथा छठ पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष खड्काले बताए । खड्काले भाइचारा, सम्बन्ध, स्नेह र पारिवारिक सामिप्यता एंव सुखद दाम्पत्य जीवनको उद्देश्य लिई पालिका स्तरिय जोडी दौड प्रतियोगिता गर्न लागिएको बताए ।

प्रतियोगिताको लागि हालसम्म २९ जोडीले नाम दर्ता गराएका छन् । शनिबार सम्म ४० जोडीले नाम दर्ता गर्ने क्लवले अपेक्षा गरेका छन् । प्रतियोगिता शारदा माविको खेल मैदानमा हुने छ । प्रतियोगिता आयोजना गर्न करिब अनुमानित ८० हजार खर्च हुने बताएको छ । प्रतियोगितामा प्रथम हुने जोडीले नगद १० हजार पाउने छन् भने द्धितीय हुने जोडीले नगद ५ हजार , तृतीय हुने जोडीले नगद ३ हजार र सान्त्वना हुने जोडीले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।