असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । यस वर्षको बहुप्रतीक्षित मध्येको यस चलचित्रको सार्वजनिक गीत काली प्रसाद बास्कोटाले गाएका हुन् भने शब्द पनि उनकै रहेको छ । गीतले दयाहाङ राई र उपासना बिचको प्रेम देखाएको छ । चलचित्रले स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तर्द्वन्द्वको कथा बोकेको छ । भने गीतले यसै भाव समेटेर दयाहाङ ले उपासनालाई गरेको प्रेम र यस भित्रको कथालाई रहस्यमा नै राखेको छ । गीतमा दयाहाङ, उपासना र विजय बराल फिचर्ड छन् । अर्ग्यानिक निर्देशकको रूपमा चिनिएका रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
रिलिज भएको गीत ‘दुबो फुल्यो’ र ट्रेलरले राम्रै चर्चा बटुलिरहेको छ । बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र डी .कार्कीले खिचेका हुन् । चलचित्रमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुष्कर गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् । यति बेला चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।







