मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा यही असोज ९ गते बिहीबार तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । यस कार्यक्रमलाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गर्ने भएको छ ।
‘असोज ९ गते बिहिवार तेस्रो मिस्टर मकवानपुर गर्ने गरी तयारी अघि बढाएका छौं’, कार्यक्रम संयोजक सुजन श्रेष्ठले भने, ‘क्लव हेटौंडामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रश्तुती समेत हुनेछ ।’ मिस्टर मकवानपुरको उपाधि जित्नेले मोटरसाइकलसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै विधागत रुपमा प्रथम हुनेलाई नगद १० हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्रदान गरिनेछ । ५ देखि ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा महिलाको मैत्रीपूर्ण प्रतिष्पर्धा समेत हुने आयोजक मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश भेटवालले जानकारी दिए । कार्यक्रममा राष्ट्रियस्तरका निर्णायकहरु आउनेछन् ।
मिस्टर मकवानपुर प्रतियोगिताको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा करिब ३५ जनाले प्रतिस्पर्धा गर्नेछन् । प्रायोजक र टिकटबाट खर्चको व्यवस्थापन हुनेछ । ‘मिस्टर मकवानपुर सकिएपछि राष्ट्रिय स्तरको कार्यक्रम गर्ने योजना पनि रहेको छ’, करिब एक महिना अघिबाट फिटनेस संघको नेतृत्व सम्हालेका भेटवालले भने, ‘यस्ता कार्यक्रममा स्थानीय तहबाट सहयोग हुने अपेक्षा समेत लिएका छौं ।’ मकवानपुरमा १३ वटा फिटनेश क्लव रहेका छन् । करिब एकहजार ६ सय जनाले क्लवमा पुगेर नियमित शारीरिक व्यायाम गरिरहेको अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा शारीरिक सुगठन तथा फिटनेस संघका संस्थापक अध्यक्ष सुनिल अधिकारीलगायतको आतिथ्यता थियो ।