मकवानपुरगढी गाउँपालिकामा आजबाट तेस्रो संस्करणको गाउँपालिका स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ । मकवानपुरगढी–६ स्थित डुम्रेकुनामा रहेको सनराईज युथ क्लवको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागिएको हो ।

नेपालीहरुको महान चाड बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा सधैंका वर्षहरुमा झै यस वर्षपनि प्रतियोगिता आयोजना गरेको सनराईज युथ क्लवका अध्यक्ष अशोक स्याङ्तानले बताए । स्थानीय स्तरमा छरेर रहेका उदयमान युवा खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मको खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्नको लागि टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको अध्यक्ष स्याङ्तानको भनाई छ ।

आजबाट सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुने छ । पालिकाभित्रका १० टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार तथा शिल्ड , मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार तथा ट्रफी, मेडल , प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट खेलाडीहरु विशेष प्रोत्साहन प्रदान गरिने आयोजकले जनाएको छ ।