सहकारीको माध्यमबाट महिलाहरुको क्षमतासँगै नेतृत्व विकासमा विगत दुई दशकदेखि काम गर्दै आइरहेको ग्रामीण महिला सेवा केन्द्रको २१ औं साधारणसभा भएको छ । हेटौंडास्थित केन्द्रमा संस्थाले २१ औं साधारणसभा र ९ औं अधिवेशन गरेको हो । अधिवेशनबाट सुलोचना स्याङतान संस्थाको अध्यक्षमा निर्विरोध चयन भएकी छन् ।

स्याङ्तानको नेतृत्वमा अधिवेशनले ९ सदस्यीय कार्य समिति सर्वसम्मतीमा चयन गरेको हो । उपाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएकी छन् । उनी संस्थाकी पूर्वअध्यक्ष हुन् । संस्थाको सचिवमा अचला शर्मा र कोषाध्यक्षमा देवकी चौलागाई चयन भएकी छन् । सदस्यहरुमा सिता घलान, लक्ष्मी माया थिङ, सरिता सापकोटा, पञ्चमाया स्याङ्तान र एलिजा पुडासैनी चयन भएको संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिए । लेखा समिति संयोजकमा मेनुका कुमारी न्यौपाने चयन भइन् ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा कार्यक्रम गरिएको हो । अध्यक्ष कार्कीले संस्थागत प्रतिवेदन, सचिव अचल शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुलोचना स्याङ्तानले आयव्यय प्रतिवेदन साधारणसभामा प्रस्तुत गरेका थिए । संस्थाकी उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा हेटौंडा–५ की वडा सदस्य रञ्जिता सिलवाल, केन्द्रकी पूर्वअध्यक्ष शर्मिला श्रेष्ठ, निवर्तमान अध्यक्ष लक्ष्मी मोक्तान, संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपाने, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।