हेटौंडाबाट मकवानपुर प्रहरीले २ वटा चोरीको मोटरसाईकल सहित २ जना पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० स्थित बसपार्कमा सवारीसाधनहरु रोकी सुरक्षा जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको २०० सीसीको बजाज पल्सर एनएस मोटरसाइकल र चालक मकवानपुरको बागमती गाउँपालिका–४ राईगाउँका २३ वर्षीय बिछोड लामा र बागमती प्रदेश ०२–०३६ प ९९१६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित बकैया गाउँपालिका–२ का ३३ वर्षीय तीर्थमान लामा भोलनलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको मोटर साइकलसहित कारबाहीका लागि लामा र भोलनलाई प्रहरी बृत्त बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।