मकवानपुरगढी गाउँपालिकामा रहेको क्रसर उद्योगहरुले राजस्व समयमानै नबुझाएको भन्दै गाउँपालिकाले ताला लगाएको छ । शनिबार गाउँपालिकाले प्रहरी परिचालन गरेर गाउँपालिकामा रहेको तीन क्रसर उद्योग र दुई बालुवा प्रशोधन केन्द्रमा ताला लगाएको हो । मकवानपुरगढी गाउँपालिकाको वडा नं.२,५ र ६ मा पाँच वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन् ।

उक्त क्रसर उद्योगले करिब डेढ करोडको हाराहारीमा गाउँपालिकालाई राजस्व बुझाउन बाँकी रहेको गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उक्त क्रसर तथा बालुवा प्ल्यान्ट ब्यवसायीहरुले गतबर्षकै नदिजन्य पदार्थ उत्खनन् गरेको करिब एक करोड राजस्व बुझाउन बाँकी थियो । बाँकी रहेको राजस्व असार १५ गते बुझाउने गरी गाउँपालिका र क्रसर ब्यवसायीबिच सहमती भएको थियो । त्यसपछि गाउँपालिकाले क्रसरलाई ग्राभेल उत्खनन् गर्न समेत दिएको थियो ।

पालिकालाई बुझाउनुपर्ने राजस्व समयमा नबुझाएपछि पालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, अध्यक्ष, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी सहितको टोलीले क्रसर उद्योग र बालुवा प्ल्यान्टमा ताला लगाएको हो । उद्योगले सहमति भएको हप्ता दिन वित्दा समेत राजस्व दाखिला नगरेपछि ताला लगाउन बाध्य भएको उपाध्यक्ष पाख्रीनले बताइन् ।