मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गते देखि हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार बसेको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता यही असार १८ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको हो ।

स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् । सबै पालिकाहरुलाई छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरुले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए । जति पालिकाले छनौट गरेका छन उनीहरु वीच बाटै जिल्ला प्रतियोगिता हुने पनि दाहालले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम निर्देशन समितिका संयोजक वेस खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति,जिल्ला प्रहरी,जिल्ला शिक्षा ईकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र शाही,विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरुको बैठकमा सहभागिता थियो । जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले काठमाण्डौमा असार २५ गते देखि हुने प्रदेशस्तरिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

अहिले सम्म हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले स्थानिय छनौट गरेका छन भने बकैया, मकवानपुरगढी र कैलासले छनौट गर्ने जानकारी दिएको दाहालले बताएका छन् । राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स,भलिवल,कबड्डी,कराते,तेक्वान्दो र उसु खेलका गरि ४८ स्वणै पदकका लागि प्रतियोगिता हुने पनि दाहालले बताएका छन् । प्रतियोगिता हेटौंडा–४ स्थित लोकतान्त्रिक हुप्रा चौरमा हुनेछ ।