नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल शीर्ष दुईमा रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने पक्का भएको हो । समूह ‘बी’ मा अब हङकङ र कुवेत मध्य एक टोली सेमिफाइनलमा भिड्नेछन् । हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ‘ए’ मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् ।