
एफसी एसियन कप छनोटका लागि आज नेपालले जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ। खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ। बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ। तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा निकाल्न सहज छैन। नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन्।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाबरहित खेल्ने दाबी गर्छन्। किरणको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका नवयुग श्रेष्ठले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताएका छन्। कुवेत जानुअघि कतारको दोहामा १० दिनको तयारी गरको नेपालले त्यहाँ ३ वटा मैत्रीपूर्ण खेल समेत खेलेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




