स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत मकवानपुरको १० वटा स्थानीय तहमध्ये ८ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । स्थानीय तह अन्तरगत ६ वटामा गठबन्धनले जितेको छ भने दुई वटामा नेकपा एमालेले जितेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनले जित हासिल गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामा स्याङ्तान पालिका प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका मान कुमारी पाख्रिन (नेपाली) विजयी भएका छन् । लामाले एमालेका उम्मेदवार विदुर हुमागाँईलाई पराजित गरेका थिए भने पाख्रिनले एमालेका सन्तु थिङलाई पराजित गरेका थिए ।

यसैगरि पूर्वी मकवानपुरको बकैया गाउँपालिका प्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी हुँदा उपप्रमुखमा गठबन्धनकै माओवादी केन्द्रका भक्त बहादुर खत्री निर्वाचित भएका छन् । इन्द्रसरोबर गाउँपालिकामा भने नेकपा एमालेले जितेको छ । नेकपा एमालेले गठबन्धनलाई पराजित गर्दै एमालेका देवकृष्ण पुडासैनी अध्यक्षमा विजयी हुँदा उपप्रमुखमा पनि एमालेकै उमा लामा विजयी भएकी छन् ।

त्यसैगरी भिमफेदी गाउँपालिकामा पनि नेकपा एमालेले जित हासिल गेरेका छ । नेकपा एमालेका हिदम लामाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिकाको प्रमुखमा विजयी भएको हो । उपप्रमुखमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । यसैगरि मकवानपुरको कैलाश गाउँपालिकामा पनि गठबन्धनबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तान पालिका प्रमुखमा विजयी हुँदा उपप्रमुखमा गठबन्धनबाटै माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका छन् ।

मकवानपुरको उत्तरी थाहा नगरपालिकामा पनि गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका छन् । राक्सिराङ गाउँपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुँदा उपप्रमुखमा ठबन्धनबाटै माओवादी केन्द्रका बनस्तम थिङ विजयी भएका छन् ।

मनहरी गाउँपालिकाको प्रमुखमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका रञ्जन कालाखेती विजयी हुँदा उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी सिता पुलामी मगर (रेखा) विजयी भएकी छन् । हाल मकवानपुरको बागमती गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।