समावेशी, समतामूलक, समृद्ध र खुसी पालिकाः पालिकाबासीको सशक्तिकरण हाम्रो प्रतिवद्धता, पालिकाको विकास, पालिकाबासिकै सहभागिता भन्ने मूल मर्मका साथ मकवानपुरगढी गाउँपालिकाका गठबन्धनका उम्मेदवारले संयुक्त प्रतिवद्धता व्यक्त गर्दै २५ बुँदे पाँच वर्षेकार्यकालका लागि आफ्नो योजना प्रस्तुत गरेका छन् । समुन्नत नेपालको सपना र योजना बोकेर हामी गाउँपालिकालाई समृद्ध र जिल्लाकै उकृष्ट गाउँपालिका बनाउने अठोटका साथ गठबन्धनबाट आफ्नो उम्मेदवारी रहेको जनाइएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसबाट दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट मानकुमारी पाख्रीन(नेपाली)को उम्मेदवारी रहेको छ । पालिकाको ८ वटै वडामा घरदैलो तथा संयुक्त चुनावी कार्यक्रम गर्दै मत माग्ने अभियानमा सरिक भएका स्याङ्तान र पाख्रीनले गाउँपालिकाको समग्र विकासका लागि यस्तो प्रतिवद्धता पालिकाका बासीहरुमा प्रस्तुत गरेका छन् । उनीहरुले प्रस्तुत मात्रै नभई पूर्ण रुपमा कार्यान्वयन गरिने समेत जनाएका छन् ।

यस्तो छ गठबन्धनका उम्मेदवारको प्रतिवद्धतापत्र

हरेक नागरिकको स्वतन्त्रता र सम्मान गरिनुका साथै नीति निर्माणमा नागरिकलाई संवद्र्धन र प्रवद्र्धन गरि संरक्षण गरिनेछ । गाउँपालिकामा असल शासन र जवाफदेहितामा रहि सुशासन कायम गरिनेछ । वडा देखी गाउँपालिका सम्म प्रविधिमैत्री बनाई सहज र प्रभावकारी सेवा प्रवाह गरिनेछ । जेष्ठ नागरिक भत्ता वडाबाटै वितरण गरिने, सिफारिश, राजस्व सेवा, घर नक्सा इजाजत जस्ता सेवाहरु विद्युती माध्यमबाट गरिनेछ । गाउँपालिकाको नीतिगत, कानुनी तथा संस्थागत क्षमता विकासमा संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा न्याय क्षेत्र,अनुगमन, पूर्वाधारका गुणस्तर लगायत,आधारभूत मापदण्ड निर्माण गरिनेछ ।

गाउँपालिकाभित्र रहेका स्रोत साधनको उचित व्यवस्थापन गरिनेछ भने दोहोरो कर प्रणालीको अन्त्य गरि सार्वजनिक सेवा र नागरिक हितको आधारमा कर निर्धारण गरिनेछ । पालिकाभित्रका साना तथा ठुला पूर्वाधार निर्माणका लागि समन्वय, सहकार्य र साझेदारीमा काम गरि समृद्ध गाउँपालिका बनाइनेछ । गाउँपालिकाका वडादेखी पालिकासम्म डाटावेसमा रहेर काम गरिनुका साथै प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट,नीति र योजना तर्जुमा गरि बाडँफाडँ गरिनेछ । भष्ट्राचार, अनियमितता र पदीय दुरुपयोगको अन्त्य गरिनुका साथै समाजको तल्लो तहको हित र अधिकारलाई प्राथमिकतामा राखी सिर्जनशील र जनमुखी नेतृत्वको आभाष दिइनेछ ।

कक्षा १२ सम्मको अध्ययन निशुल्क गरिने, प्राविधिक शिक्षालय स्थापना गरिने, प्रत्येक टोलमा बालविकास केन्द्र र विद्यालयमा इलाईब्रेरी स्थापना गरिनेछ । साथै दिवा खाजाको कार्यक्रमलाई निरन्तरता, एक विद्यालय एक नर्सको व्यवस्था, विद्यार्थीमात्र नभई शिक्षकशिक्षिकाहरुमा पनि थप क्षमता अभिवृद्धि कार्यक्रम गरिनेछ । ‘गाउँपालिका उपाध्यक्षसँग छोरी पढाउ मनोवल फेरिन्छ’ कार्यक्रम लागु गरिनेछ । सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने भावका साथ निर्माणधिन अस्पतालमा २५ शैयाको अस्पताल सञ्चालन गरिनेछ । स्वास्थ्य चौकी र टोलमा समेत खोप सेवा, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व एंव शिशु स्वास्थ्य सेवाहरु ग्रिनेछ । ६५ वर्ष माथीका जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता, अति विपन्न, दलितहरुको निशुल्क स्वास्थ्य बिमा गरिनेछ ।

गाउँपालिकाको कार्यालय आउने जाने सडक सञ्जालको विस्तार गर्दै कच्ची रहेका सडकहरु पक्की बनाउनुका साथै स्तरोन्नती गरिनेछ । ८ वटै वडामा निर्माण भएका सडकहरुको स्तरोन्नतीका साथै थप नयाँ सडकहरु निर्माण गरिनेछ । निर्माणधिन सडक, पुल तथा बाटाघाटाहरुलाई निरन्तरता दिदैं मूल सडकहरुमा सोलार प्यानल जडान गरि बत्तिको व्यवस्था गरिनेछ । पालिकाको कृषि तथा सिंचाईलाई विशेष प्राथमिकतामा राखेर कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायकि पशुपालन, सिंचाई प्रणालीमा सुधार, डिप बोरिङ लिफ्ट प्रणालीमा सिचाईको व्यवस्था गरिनेछ । किसानलाई कृषि मल, उन्नत वीउ विजन, बाली रोग निदानका लागि वडागत रुपमा प्राविधिक सेवा दिइनेछ । पशु सुत्केरी भत्ताको व्यवस्था, दुधमा प्रतिलिटर २ रुपैयाँ दिइनेछ । तरकारी संकलन केन्द्र स्थापना, सामूहिक खेतीको अवधारणा, कृषिमा अनुदानको व्यवस्था, कृषि तथा पशुक्षेत्रबाट उत्पादित कच्चा पदार्थको प्रयोग गरि घरेलु तथा साना उद्योगको प्रवद्र्धन गरिनेछ ।

गाउँपालिकामा प्रत्येक वडामा समानुपातिक र योजनावद्ध विकास गरिनेछ । खानेपानी र सरसफाइको क्षेत्रमा बृहत खानेपानी योजना बनाई प्रत्येक घरमा खानेपानी पुग्ने गरि काम गरिनेछ । ऐतिहासिक मकवानपुरगढी दरवार, विजय पार्क, ढुङ्गेगढी, बुढीचौरको खुँडेधार, ऋषेश्वर गुफा, सबै धार्मिक मठमन्दिर, गुम्बा तथा चर्च, पार्क तथा पर्यटन क्षेत्रहरुको संरक्षण, प्रचारप्रसार तथा विकास गरिनेछ । खोलानाला, चट्याङ तथा विभिन्न विपदले गर्दा हुने समस्याहरुलाई समाधान गर्दै व्यवस्थित बस्ती विकासको योजना गरिनेछ । नदी नियन्त्रण तथा विपद व्यवस्थापन गरिनेछ । गाउँपालिकामा एक वटा बरुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

गाउँपालिकाले सामाजिक सुरक्षा, वृद्धवद्धाहरुको सम्मान र बालबालिका संरक्षणमा विभिन्न कार्यक्रम योजना बनाई काम गरिनेछ । युवा तथा खेलकुद कार्यक्रमहरु ल्याई खेलाडी उत्पादन गर्न स्र्पोट एकेडेमीको स्थापना गरिनेछ । गाउँपालिकामा समावेशी तथा समानुपातिक विकास गरिनेछ । बालमैत्री स्थानीय शासनलाई पूर्णता दिन विभिन्न कार्य योजनाहरु ल्याइनेछ भने महिला तथा बालबालिकाका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ । गाउँपालिकाभित्र रहेको खानी तथा खनिज पदार्थको उपयोग र संरक्षण गरिनुका साथै विक्री वितरणमा नीतिगत रुपमा मात्रै गरिनेछ । सुचना तथा संचार र इन्टरनेट सुविधा प्रत्येक वडामा गरिनेछ र कम्प्युटर प्रणालीमा कार्यसम्पादन गरिनेछ ।

गाउँपालिकाभित्र विभिन्न गैर सरकारी संस्थाहरुको सहकार्यमा विभिन्न कामहरु गरिनेछ । आर्थिक विकासका लागि स्थानीय स्रोत परिचालन गरि पालिकालाई समुन्नत गाउँपालिका बनाइनेछ । गाउँपालिकाका आउने सर्शत, समपूरक र विशेष अनुदान, स्थानीय तहको आन्तरिक आयका क्षेत्रहरु प्हिचान गरि अन्तर सरकारी अनुदान वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड र समानीकरण अनुदानहरु आवश्यताका आधारमा पक्षपात नगरि समान ढङ्गले वडालाई वितरण गरिनेछ ।