मकवानपुर जिल्लाकै शैक्षिक क्षेत्रमा स्थापित हेटौंडा एकेडेमिले आगामी शैक्षिक सत्रबाट जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न ३ विधाको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित एकेडेमीले पत्रकार सम्मेलन गरी कक्षा १ देखि ९ सम्म अध्ययनरतमध्ये ३३६ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीका अनुसार ‘माधवराज सुमार्गी स्मृति ’छात्रवृत्ति १८९ जनालाई, ‘रुपचन्द्र विष्ट थाहा स्मृति छात्रवृत्ति १०८ जनालाई र विश्वकान्ति कलावती सुमार्गी छात्रवृत्ति ३९ जनालाई प्रदान गरिने भएको हो ।

विद्यार्थीहरुले परिक्षामा पाएको नजिजाको आधारमा छात्रवृत्ति प्रदान गरिने एकेडेमीकी निर्देशक अंकिता सुमार्गीले जानकारी दिइन् । उनको अनुसार विद्यार्थीले परिक्षामा ल्याएको नतिजाको आधारमा २५ प्रतिशत छुटदेखि सतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था मिलाइएको छ । यी छात्रवृत्तिहरुले विद्यार्थीहरुलाई अध्ययन क्षेत्रमा नयाँ जोश जाँगर पैदा हुने र अध्ययनशील बालबालिका भएका अभिभावकले आर्थिक अभावकै कारण विद्यालय पठाउन नसक्ने बाध्यताको अन्त्य हुने निर्देशक सुमार्गीले बताइन् । उनले विद्यालयले अन्र्तराष्ट्रि,राष्ट्रि,प्रदेशस्तरिय तथा स्थानीय गरि ४ प्रकारको छात्रवृतिको व्यवस्था गरिएको पनि जानकारी दिइन् ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्दै विद्यार्थी र अभिभावकप्रति थप जिम्मेवार एवम् जवाफदेही भएर आफुहरु अघि बढिरहेको बताए । उनले आगामी आर्थिक बर्षबाट एकेडेमीले प्लस टु सम्मको अध्यापन सुरु गर्ने पनि बताए । हाल एकेडेमीमा १० कक्षासम्म अध्यापन हुँदै आएको छ । २४ वर्षअघि स्थापना भएको हेटौंडा एकेडेमीले मकवानपुरमा गुणस्तरिय शिक्षा प्रणालीलाई नै सकारात्मक रुपमा परिवर्तन गर्दै लगेको छ । विद्यार्थीहरुको लागि आवासको पनि व्यवस्था भएको विद्यालयमा काठमाडौं,सुदुरपश्चिम तथा तराई लगायत देशको विभिन्न स्थानबाट पढ्न आउने विद्यार्थीहरुको संख्या निकै धेरै छ ।