नेपाली कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्र्तगत कांग्रेस बागमती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसिसिको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।

सभापति बानियाँले एमसिसि बारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा कांग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताउनुभयो ।सभापति बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोलटोलमा गई आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न मतदातालाई बुझाउनसमेत निर्देशन दिनुभयो । कांग्रेस बागमती प्रदेशले हिजो सोमबार पूर्व केन्द्रीय महामन्त्री प्रकाशमान सिंहबाट मूख्य कार्यालय हेटौंडामा उद्घाटन गर्नुका साथै तेश्रो बैठकबाट कोषाध्यक्ष, प्रवक्तासहित विभिन्न समिति र विभागहरुमा संयोजक तोकेको थियो ।