प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको उपाधि मकवानपुरले जितेको छ । आज आईतबार हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ललितपुरलाई पेनाल्टी सुट आउटमा ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयमा दुबै तर्फबाट २–२ गोलकको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटबाट छिनोफानो गरेको हो । पेनाल्टी सुटआउटमा मकवानपुरले ३ गोल गरेका थिए भने ललितपुरको २ बल पोष्ट बाहिर र एक बल मकवानपुरका किपरले रोकेका थिए । ललितपुरले खेलको सुरुवातमै गोल गरेता पनि मकवानपुरले केही समयमै गोल गर्दै १–१ को बराबरी गरेको थियो । त्यस्तै फेरी मकवानपुरले एक गोल थप्दै खेलमा अग्रता बनायोे । तर ललितपुरले फेरी अर्को गोल गर्दै २–२ को बराबरी ग¥यो ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । विजेता बनेको मकवानपुरले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता ललितपुरले नगद ८० हजार सहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।