नेपाली फास्ट बलर सोमपाल कामी  आवद्ध रहेकाे  विनिपेग हक्स ग्लोबल टी– २० को फाइनलमा पुगेको छ। क्यानडाको प्रतिष्ठित लिगको क्वालिफायरमा ब्राम्प्टनलाई पराजित गर्दा सोमपाल १२ औं खेलाडीका रुपमा रहे ।

उनी १९ औं ओभरमा मैदानमा प्रवेश गर्दै फिल्डरका रुपमा सहिद अफ्रिदीको क्याच लिन सफल भएका थिए। शनिबार राति भएको दोस्रो क्वालिफायरमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै अब फाइनलमा भान्कुभर नाइट्ससँग प्रतिष्पर्धा गर्ने छ। नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ नियमानुसार ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो। ब्राम्प्टनले प्रस्तुत गरेको २ सय १ रनको विशाल लक्ष्य अन्तिम बलमा ३ विकेटको क्षतिमा पुरा गर्दै हक्स फाइनलमा पुगेको हो। अन्तिम ओभरमा जितको लागि १३ रन चाहिएको अवस्थामा हक्सले कुनै गल्ती गरेन्। हक्सको जितमा यूएईका शैमान अनवारले २३ बलमा ६ चौका र ४ छक्का सहित ५२ रनको योगदान दिए। उनी म्यान अफ द म्याच चुनिए।

त्यस्तै जेपी ड्युमिनी ३४ बलमा समान ३ चौका र छक्का सहित ५० रनमा अविजित रहे। क्रिस लिन ३५, सन्नी सोहेल ४१ रनमा आउट हुँदा डरेन स्मिथ १७ रनमा अविजित रहे। ब्राम्प्टनका लागि वहाव रियाज,जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्राम्प्टनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनाएको थियो। उसका लागि कप्तान डरेन सम्मीले सर्वाधिक ३३ रनको योगदान दिए। त्यस्तै जर्ज मुन्से २२,रोहन मुस्तफा १४,बाबर हायत र शहिद अफ्रिदी समान ३२ रनमा आउट भए। वहाव रियाज २३ रनमा अविजित रहे। हक्सका लागि कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए। कलिमा सेना २,मोहम्मद इफरान र पल भान मार्करेमले समान १ विकेट लिए।