बस्तीपुर जेसीज हाँडीखोलाको आतिथ्यतामा यही भदौ ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तीव्र पारिएको छ । हेटौंडाको भैरबरोडस्थित पूजा ब्याङ्क्वीटमा हुने क्षेत्र सम्मेलनको तयारी करिब ९० प्रतिशत सकिएको सम्मेलन निर्देशक बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालले जानकारी दिए ।
‘करिब ९० प्रतिशत काम सकिएको छ । जेसीजका कार्य समिति, पूर्व अध्यक्षहरु, साधारण सदस्य सबै यो सम्मेलनलाई कसरी सभ्य र भव्य रुपमा सु–सम्पन्न गर्न सकिन्छ भनेर लागिपर्नुभएको छ’, भेटवालले भने, ‘सम्मेलनलाई स्मरणीय र भव्य बनाउन हामी दिनरात नभनी खटिरहेका छौँ ।’ सम्मेलनको तयारीको बिषयमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलले शुक्रबार अस्थायी सचिवालय हेटौंडा–५ मा आएर बुझ्नुको साथै आवश्यक निर्देशन एवम् सुझाव दिएका थिए ।
उनले तयारी उत्कृष्ट रहेको प्रतिक्रिया दिँदै यसलाई भव्य बनाउन नेपाल जेसीज आवश्यक सहयोग एवम् सहकार्यका लागि तयार रहेको बताए । सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘ख’ का ३० वटा शाखासहित नेपालका विभिन्न शाखाको गरी करिब ८ सय युवाहरु हेटौंडा आउनेछन् । क्षेत्र ‘ख’ सम्मेलनका लागि करिब ७० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । सन् २०११ सालमा स्थापना भएको बस्तीपुर जेसीजले यस अघि नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्षहरुको भेला र नोम लोम लिडर्स एकेडेमीको आतिथ्यता गरिसकेको छ । ‘स्थापनाको छोटो समयमै हामीले नेपाल जेसीजका महत्वपूर्ण कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेका छौं ।
मिनी महाधिवेशनको रुपमा रहेको क्षेत्र ‘ख’ सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न बस्तीपुर जेसीजका सम्पूर्ण सदस्य खटिरहनुभएको छ’, बर्ष सन् २०१९ का अध्यक्ष सुनिल अधिकारीले भने, ‘यो कार्यक्रमको लागि स्थानीय तह, उद्योगी व्यवसायी एवम् आम मकवानपुरबासीले सक्दो सहयोग गरिरहनुभएको छ ।’ क्षेत्र ‘ख’ सम्मेलन अब केही दिन मात्र बाँकी रहेकोले सहयोगका लागि सबैसँग उनले अनुरोध गरे । सम्मेलनका लागि क्षेत्र ‘ख’ का १३ शाखाहरुले अग्रीम रजिष्ट्रेसन गरिसकेका छन् ।