
हेटौंडा, २२ भदौ/हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको चारवटै खेल १–१ गोलको बराबरीमा सकिएको छ । आइतबारको खेलबाट ८ टिमले समान एक÷एक अंक बटुलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेण्डर अनुसार मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन भैरहेको हो ।
बिहान भएको खेलमा हाँडीखोला यूथ क्लब र हटिया स्पोर्टस् एकेडेमीको १–१ गोलको बराबरी खेलेका छन् । हटियाका लागि विमल घलान र हाँडीखोलाको लागि सुलभ बुढाथोकीले गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच हटियाका विमल घलान भए । यस्तै शनिबार बर्षाको कारण स्थगित भएको विजय यूथ क्लब हेटौंडा र सक्षम युवा क्लव नेवारपानीबीचको खेल पनि १–१ गोलको बराबरी भएको छ । अघिल्लो दिन १ गोलले पछि परेको विजय यूथले आइतबारको खेलमा अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको हो । विजय यूथको तर्फबाट सुरज बिष्टले गोल गरेका हुन् । यद्यपी सक्षम क्लबले भने नतिजा स्वीकारेको छैन । रेफ्रीले गलत निर्णय दिएको भन्दै सक्षमले खेल नै बहिष्कार गर्दै मैदान छाडेको थियो । फुटबल संघले यस विषयमा अन्तिम निर्णय लिने जानकारी दिएको छ ।
यस्तै दिउँसो भएको आर.आर. एफसी र निब्टा क्लव निबुवाटारबीको खेल पनि १–१ गोलको बराबरीमै टुंगियो । आर.आर एफसीका लागि एलिस लामा र निब्टाको लागि नकुल दोङले गोल गरेका हुन् । खेलमा आर.आर एफसीका अमृत गोले म्यान अफ दी म्याच भए । यस्तै आइतबारको अन्तिम खेलमा एफसी पोताला र नामटार क्लवले १–१ गोलको बराबरी मै खेल टुङग्याएका छन् । पोतालाका तर्फबाट कृष्णबहादुर बल र नामटारको तर्फबाट सञ्जिव बोम्जनले गोल गरेका हुन् । नामटारका बोम्जन नै खेलको म्यान अफ दी म्याच भएका हुन् । असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ३३ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




