करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन्। अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।पोखरा–३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरिएको हो। उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ।

यस्तै काठमाडौँबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण–२ घर भएका २९ वर्षीय अंकित सुनारसमेत समातिएका छन्। सुनारको साथबाट ५ थान सिक्री, एक थान औंठी र एक जोर रिङ गरेर कूल २१ तोला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले बताए।