नेपाल शिक्षक संघ मकवानपुरले नेपाली कांग्रेसकी नवनिर्वाचित सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशका राज्यमन्त्री सन्त प्रजालाई सम्मान गरेको छ । सम्मान कार्यक्रमा बोल्दै उपाध्यायले कांग्रेसको अधिवेशन सम्पन्न गर्न सहयोग गरेकोमा शिक्षक संघलाई धन्यवादसमेत दिनुभयो । मकवानपुर जिल्लाले नेपाली कांग्रेसको प्रदेश अध्यक्ष, केन्द्रमा सहमहामन्त्री तथा प्रदेशमा मन्त्रीसमेत पाउनु गौरवको कुरा भएको भन्दै पार्टीको नीतिगत तहमा आफूले ठुलो सङ्घर्ष गरेको र अब सहमहामन्त्री भएपछि अझ सङ्घर्ष बाँकी रहेको बताउनुभयो । पार्टीलाई अझ समावेशी बनाउन आफू लागिपर्ने बताउनुभयो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्त प्रजाले शिक्षक संघले पार्टीलाई मार्गदर्शन गरिरहेको बताउनुभयो । उहाँले कांग्रेसकै नीतिअनुसार शिक्षा नीति बनेको बताउँदै शिक्षाका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन शिक्षक संघलाई आग्रह गर्नुभयो । शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामसागर गुरागाइँ, प्रजातान्त्रिक कानुन व्यवसायी संघका अध्यक्ष केशवकुमार काफ्ले नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।