
हेटौँडा – नेपाली कविता लेखनमा दुई दशकदेखि क्रियाशील कवि सुवास खनालको नयाँ कविताकृति ‘सपनाका अवयव’ बुधबार औपचारिक रुपमा सार्वजानिक भएको छ ।
सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भर्चुअल रुपमा भएको उक्त कार्यक्रममा भिडियोमार्फत खनालका बुवा आमा गोकर्ण खनाल र सुशीला खनालले संयुक्त रुपमा कविताकृति सार्वजानिक गर्नु भएको हो ।
कार्यक्रममा पुस्तकबारे प्राध्यापक घनश्याम घिमिरेले मन्तव्य राख्नुभएको थियो । पुस्तकबारे बोल्दै उहाँले खनालका कवितामा ससाना विषयमा पनि गम्भीर भाव पैदा गर्ने शक्ति रहेको बताउनु भयो ।
कवि तथा रासस अध्यक्ष श्यामलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सञ्जालका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्यामलले खनालका कविता सामाजिक उल्टो गतिको प्रतिरोधी रहेको बताउनु भयो । अर्का वक्ता उदय अधिकारीले ‘सपनाका अवयव’का कविता आधुनिक समाजको चित्रण र त्यसले सिर्जना गरेको पीडाप्रति केन्द्रित रहेको बताउनु भयो । कार्यक्रममा साहित्यकारहरू आर. सी. रिजाल, कौशल पाण्डे , ह्यग्रीव आचार्य , शान्ति प्रियवन्दना , अनिता न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो र कार्यक्रमको सहजीकरण झरना साहित्यिक परवारका अध्यक्ष दीपक गौतमले सहजीकरण गर्नुभएको थियो ।
दुई चरणमा भएको विमोचन कार्यक्रमअन्तर्गत दोस्रो चरणमा एन एस टेलिभिजनमार्फत पुस्तकसम्बद्ध भिडियो टिप्पणी प्रसारण गरिएको थियो । कविहरू मनु मञ्जिल , शकुन्तला जोशी , अनमोलमणी , अभय श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतले भिडियोमा पुस्तकबारे आफ्नो भनाइ राख्नु भएको थियो । खनालको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो ।
यस अघि उनको २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामको कविताकृति प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




