नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिने निर्णयले सिंगो देशलाई नै प्रभावित पारेको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले आत्मसमीक्षा गरेको र माओवादी कमजोरजस्तो देखिएकोसमेत बताए।

उनले भने, ‘सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरै गरेको छु। अहिले माओवादी कमजोर देखिनुमा अरुको दोष छैन। मेरै कमजोरी छ। अहिले माओवादी कमजोरजस्तो देखिएको छ।’ उनले आफूले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको दावी गरे। ‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ। कहाँ थियो त गल्तीरु त्यसको समीक्षा गरौँ। हाम्रो उद्देश्य गलत थिएन,’प्रचण्डले भने।

आफ्नो एमाले अध्यक्ष केपी ओलीसँग कुरा भएकोसमेत बताए। ‘बिहान ओलीसँग मेरो कुरो भएको थियो। ओलीले भनेजस्तै महासचिव पठाउनुभयो। पोखरेलले भनेको कुरा ठीक हो, हामीले पनि चिन्तन मनन् गर्न आवश्यक छ।’ महाधिवेशनलाई केवल माओवादीको मात्रै बनाउन नचाहेको उनले बताए। ‘अधिवेशनलाई माओवादीको मात्रै बनाउन चाहँदैनौँ। एमालेभित्र पनि समीक्षा होला, माधवजी, हामी एक ठाउँमा हुनेछौँ।’ प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन अझै अघि बढ्छ भनेको र आफूहरुले पनि त्यही चाहेको उनको भनाइ थियो।