नेकपा(माओवादी केन्द्र)को बन्दसत्र आज बिहानबाट प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ । उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका हुन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुनेछ ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।