प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरिएको छ । शनिबार हेटौंडामा बसेको सेन्टर जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरिएको हो । निरन्तर पत्रकारितामा सकृय महिला पत्रकारहरुले व्यहोर्नुपरेको विभिन्न खालका समस्याहरुका सम्बन्धमा छलफल गर्दै सुत्केरी अवस्थामा आर्थिक सहजता होस् भन्ने उद्धेश्यले भत्ताकालागि कोषको स्थापना गर्ने निर्णय भएको सेन्टर मकवानपुरले उल्लेख गरेको छ ।

यस्तै, ज्येष्ठ पत्रकारलाई उमेरसँगै स्वास्थ्यमा विभिन्न खालको समस्या पर्ने हुँदा उपचारमा सहजता होस् भनी स्थापना भएको कोषबाट खर्च प्रदान गरिने निर्णय गरिएको छ । यसैगरी, जिल्लामा रहेका सञ्चार माध्यमहरुलाई आर्थिक रुपमा मजबुत बनाउन आवश्यक उपायहरुका बारेमा पनि बैठकमा छलफल भएको थियो । सेन्टर मकवानपुरको जिल्ला सम्मेलन पश्चात बसेको पहिलो पूर्ण बैठकमा प्रेस सेन्टर बागमती प्रदेश कमिटीका अध्यक्ष यदु गौतम, केन्द्रीय सदस्य सुनिल गौतम, कृष्ण सारु मगर सल्लाहकार नवराज शर्मा, बागमती प्रदेश कमिटी उपाध्यक्ष नानीमैया विष्ट, मुख्य सचिव ध्रुव अधिकारी, सचिव चन्द्रकला खत्री, सदस्य राजु साश्वत लामिछाने, मिना श्रेष्ठ लगायतको उपस्थिति थियो । बैठक नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ९पृथक० को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको हो ।