बागमती प्रदेशमा ५ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् । योसँगै बाग्मतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ ।