राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकता वार्ता समिति गठन गरेको छ । बुधबार केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको नवनिवार्चित केन्द्रीय कार्यसमितिको बैठकले समान विचारधारा भएका पार्टीहरुसँग एकता गर्नको लागि वार्ता समिति गठन गरेको हो । समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरिएको महामन्त्री राणले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टी अन्तर्गत रहेका विभिन्न भातृ संगठनहरुलाई आगामी तीन महिना भित्रमा अनिवार्य रुपले महाधिवेशन सम्पन्न गर्न निर्देशन समेत दिएको छ । महामन्त्री राणका अनुसार पार्टीका सबै भातृ संगठनहरूलाई आगामी १५ दिन भित्रमा तीन महिना भित्रमा अनिवार्य रुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न निर्देशन दिने निर्णय गरिएको छ । नवनिर्वाचित कार्यसमितिको बैकमा निवर्तमान अध्यक्ष कमल थापा उपस्थित भएका थिएनन् ।

प्रेस विज्ञप्ति
राप्रपाको एकता महाधिवेशन पश्चात् आज नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले देहाय बमोजिमका निर्णयहरू गरेको छ ।

१.महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु भएका निवर्तमान त्रयअध्यक्ष, महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, सुरक्षाकर्मी, आमसञ्चार माध्यम लगायत शुभेच्छा प्रकट गर्ने सबैमा राप्रपाको यो बैठक धन्यवाद ज्ञापन गर्दछ ।

२.समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरिएको छ ।

३.आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्रा।डा।गीताभक्त जोशी सदस्य सचिव रहेको स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

४।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा।राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय गरिएको छ ।

५.पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम ‍लेविको निर्धारण गर्न महामन्त्री कुन्ती कुमारी शाहीलाई संयोजक तोकिएको छ ।
६.पार्टीका सबै भातृ संगठनहरूलाई आगामी १५ दिन भित्रमा तीन महिना भित्रमा अनिवार्य रुपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

७.पुस महिना भित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन निर्देशन दिने निर्णय गरिएको छ ।
८.विभिन्न कालखण्डमा राप्रपामा आबद्ध रहेको तर विभिन्न कारणले राप्रपा परित्याग गरेका, निष्क्रिय रहेका, अर्को पार्टीमा गइ भूमिकाविहिन भएकाहरुलाई परिवर्तित सन्दर्भमा राप्रपामा फर्कन र सक्रिय रहन यो बैठक आह्वान गर्दछ ।

९.महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि पौष महिनाको पहिलो हप्तासम्म बैठक राख्न र संगठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, संघीय निर्वाचन क्षेत्रीय समिति, प्रदेससभा निर्वाचन क्षेत्रीय समिति र स्थानीय तह अन्तर्गतका समितिलाई यो बैठक निर्देश गर्दछ ।

डा।धवल शम्शेर राणा

महामन्त्री