नेकपा एमाले विभाजन नभई पार्टीभित्र विद्रोह भएको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले बताएकी छन्। प्रेस संगठन नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली हतास भएको समेत बताएकी छन्।

उनले भनिन्, ‘यो एउटा सलाई मात्र कोरिएको हो। यो धेरै ठूलो डढेलो लागेर सबै सत्यानास गर्नेवाला हो। उहाँ पहेँलो पात भन्नुहुन्छ, ठीक हो तर त्यो रूख धोत्रोले खाएको हुँदा ढल्ने अवस्था छ। त्यही कारण उहाँ विक्षिप्त हुनुहुन्छ, गालीगलौज गर्नुहुन्छ, व्यक्तिप्रति प्रतिक्रिया दिनुहुन्छ।’ झाँक्रीले अहिले भत्किने पक्रिया रहेको र यो निरन्तर अगाडि बढ्ने बताइन्। उनले भनिन्, ‘अबको सात महिनापछि हुने निर्वाचनमा एमाले भत्किनेवाला छ, अब हुने स्थानीय चुनावमा भत्किनेवाला छ, संघीय र प्रदेश निर्वाचनपश्चात् पार्टी भत्किनेवाला छ।’

उनले ओली सच्चिने कुनै सम्भावना नरहेको दाबी गर्दै उनले भनिन्, ‘कुनै चिज बिग्रेपछि काम लाग्दैन। ओली सच्चिने कुनै सम्भावना छैन। त्यसकारण कुनै सम्भावना नै नभएको घरमा बस्नुभन्दा समयमै त्यहाँबाट छोडेर यो आन्दोलनमा समाहित हुनु सबैका लागि हितकर हुनेछ।’ साथै, नेत्री झाँक्रीले विद्रोह गर्न धेरै ठूलो हिम्मत चाहिने भएकाले कायरहरू विद्रोह गर्न डराएकाले एमालेमै रहेको बताइन्।