विपक्षी दलका सांसदहरूको अवरोधका कारण प्रदेश २ को प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख सरोज कुमार यादवले एक घण्टाका लागि स्थगित गरेको बैठक छलफलमा कुरा नमिलेपछि सोमबारसम्मका लागि स्थगित भएको हो । नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । बैठक सुरु भएलगत्तै उनीहरूले उभिएर विरोध जनाएका थिए । सांसदहरूले बजेटमा असतुष्टि जनाउँदै विरोध गरेका हुन् । उभिएर विरोध जनाएपछि सभामुखले नेकपा एमालेका सांसद सुन्दरबहादुर विश्वकर्मालाई बोल्न दिएका थिए ।

उनले बजेटमा जनतामाथि कुठाराघात भएको बताएका थिए । उनले बजेट संशोधन गरिनुपर्ने आफूहरूको माग रहेको बताए । उनले आफूहरूका माग पूरा नभएसम्म सदन चल्न नदिने बताएपछि सभामुख यादवले अर्थमन्त्रीबाट जवाफ आउने भएकाले बैठक चल्न दिन अनुरोध गरे ।तर, सांसदहरूले नमानेपछि बैठक एक घण्टाको लागि स्थगित गरिएको थियो । स्थगित गेरर प्रतिपक्षी दलका सांसदसँग सरकारले छलफल गरेर सहमति गर्न खोजेपनि वार्ता निष्कर्षमा पुग्न सकेन । त्यसपछि प्रदेश सभा सचिवालयले एक सूचना निकालेर सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएका हो ।