हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र रेडियो मकवानपुरले आजबाट विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दैछ । सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सव विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पहिलो कार्यक्रम अन्तर्गत आज शुक्रबार शहीद दिवसको सन्दर्भमा ‘शहीद’ शीर्षकमा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीबीच कविता प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २र२ हजार पुरस्कारको व्यवस्था गरिने छ । शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोग, १९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुईघरलाई खरको छानामुक्त गर्न जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण कार्यक्रम हुने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।

यस्तै २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने उनले बताए । समापन कार्यक्रममा समाजमा उत्कृष्ट कार्य गरी योगदान पु¥याएका दुईजनालाई नगदसहित सामुदायिक सम्मान, रेडियोका एक उत्कृष्ट कर्मचारीलाई सम्मान, रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान तथा दिव्यतारा सहकारीका संस्थापक शेयर सदस्यहरुलाई सम्मान गरिने अध्यक्ष पराजुलीले बताए । दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले नगरभित्रकै महिला, दलित वा विपन्न दुई परिवारलाई जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइन् । सहकारीले दुईवटा उद्योग सञ्चालनको तयारी गरिरहेको, महिलाका लागि सहुलियत कर्जा प्रदान गर्दै आएको र सहकारीलाई प्रादेशिक बनाउने अभियानमा रहेको उनले जानकारी दिइन् । सहकारी अध्यक्ष डीनाले आगामी बर्षहरुमा पनि सहकारी र रेडियोले सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाइन् ।