प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भए पनि ठोस सहमति नभएको वार्तामा सहभागी नेताहरुले जनाएका छन् । वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।

यसैगरी वार्तामा सहभागी अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो । त्यसपछि ओली(नेपाल वान अन वान वार्तामा बसेका थिए । पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ । भोलि बस्ने कार्यदलको बैठकपछि ठोस निष्कर्ष निस्किन्छ ।’ वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी थिए । ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी भएका थिए भने नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।यसअघि गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।