आज नेपाल र बंगलादेशबीच त्रिदेशीय (थ्री नेसन्स) कप फुटबलको उपाधिका लागि भिड्दै छ । त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार सोमबार साँझ साढे पाँच बजे सुरु हुनेछ। फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य उपाधि भएको बताएका छन् । नेपालले पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन्। जसका कारण फुटबल प्रेमीहरु सन्तुष्ट छैनन्।

प्रशिक्षक महर्जनले सोमबारको खेलमा नेपालले गोल गर्ने र उपाधि पनि जित्ने दाबी गरेका छन्। लिग चरणको दुबै खेलमा गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको थियो। नेपालले विश्वकप छनोटको अन्तर्गत सन् २०१९ को सेप्टेम्बरमा दुई गोलको जित निकालेको थियो। त्यसयता नेपालले १४ गोल खाँदा एक गोलपनि फर्काउन सकेको छैन। बंगलादेशविरुद्धको आजको खेलमा केही खेलाडी परिवर्तन गर्ने योजनामा प्रशिक्षक महर्जन छन्। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि आफ्नो कप्तानीमा टिमलाई जित दिलाउनका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।