मकवानपुर, १ भदौ । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानले बहुपहिचानका आधारमा प्रदेश नम्बर ३ को नाम ‘नेवाःताम्सालिङ प्रदेश’ राख्नुपर्नेमा जोड दिनुभएको छ । २५ औँ तामाङ प्रसारण दिवसको अवसरमा आईतबार तामाङ पत्रकार संघ मकवानपर शाखाद्वारा हेटौँडामा आयोजित ‘तामाङ सरोकारवाला र तामाङ सञ्चारकर्मीबिचको समन्वयको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै सांसद घलानले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु कानुनसम्मत भएको दाबी गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद घलानले द्वन्द पनि मेटिने र पहिचान पनि भेटिने भएकोले प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ राख्ने प्रस्ताव संसदमा दर्ता गरेको समेत बताउनुभयो । संविधान निर्माण र जनआन्दोलनका क्रममा कोरिएको पहिचान सहितको देश निर्माण गर्ने उदेश्य अनुसारै रहेर आफुले प्रस्ताव दर्ता गराएको बताउनुहुँदै उहाँले प्रदेश नम्बर ३ मा बहुपहिचानको आधार नै नेवाः ताम्सालिङ रहेको बताउनुभयो ।
‘जातिय बहुलताका आधारमा, बुहपहिचान नेवाःताम्सालिङ हुने आधारमा र भाषीय आधारमा नेवाःताम्सालिङ नाम नै उपयुक्त छ’ उहाँले भन्नुभयो, ‘प्रदेश ३ को १३ जिल्लामध्ये ९ वटामा तामाङ, ३ वटामा नेवार र चितवनमा थारु भाषीहरुको बाहुल्यता छ, यसका आधारमा पनि यो नाम उपयुक्त छ ।’ नेवाःताम्सालिङ जातिय नाम हो भन्ने विवाद निस्केको र यसले देश टुक्राउँछ भन्ने भ्रम छरिएकोप्रति संकेत गर्नुहुँदै उहाँले पहिचानको आधारमा नामाकरण गर्दा त्यस्तो नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘नेपालको संविधानले आत्मनिर्णयको अधिकार दिएको छैन, आत्म निर्णयको अधिकार नदिनुको मतलव यो छुट्टै प्रदेश हो भनेर छुट्टिने अधिकार छैन भनेर बुझ्नु जरुरी छ । हामीले नियम कानुनभित्र रहेर यो माग गरेका हौँ, हामी नियम कानुनलाई मान्छौँ ।’ उहाँले पहिचान, सामाथ्र्य लगायतका आधारमा नामाकरण हुने भएकोले नामाकरण गर्दैमा अन्य जातिलाई शासन गर्नु भन्ने गलत भ्रम पाल्न नहुने समेत बताउनुभयो । उहाँले पहिचान, समावेशी लगायतका मुद्धा उठ्नुमा जन आन्दोलनको ठूलो देन रहेको समेत बताउनुभयो । आदिवासी जनजाति तामाङ समुदाय अथवा समाजको हित चाहाने नेताहरुमा गैर आदिवासी जनजाति नेताहरुको पनि योगदान रहेको भन्नुहुँदै उहाँले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झनुभयो । समग्र देशवासीको विकास नभई देशको विकास नहुनेमा पनि उहाँले जोड दिनुभयो । उहाँले सहवरण र सन्तुलनको सिद्धान्तमा अगाडि बढ्न सके आफुलाई पनि तिखार्न सकिने र देश विकासमा पनि योगदान दिन सकिने बताउनुभयो ।
कार्यक्रमका नेपाल तामाङ घेदुङ भाषा लिपी प्रशिक्षण विभाग प्रमुख काजिमान थिङले गुनासो गर्ने पुस्ता बितेको भन्नुहुँदै अबको पुस्ताले काम गर्ने पुस्ता बन्नुपर्नेमा जोड दिनुभयो । तामाङ पत्रकार संघ र तामाङ संघसंस्थाहरु अब गुनासो गर्ने समूह नभई गतिशिल समूह हुनुपर्नेमा उहाँले जोड दिनुभयो । तामाङ समुदायको विषयमा सरोकारवालाको पहिचान हुनु पनि जरुरी भएको भन्नुहुँदै उहाँले तामाङ समुदायको समस्या र पहिचानका मुद्धाहरुलाई गैरतामाङ समुदायमाझ पनि सुनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले प्रशासन, मन्त्रालय र मिडिया सञ्चालकहरु पनि वास्तविक रुपमा तामाङ समुदायको सरोकारवाला भएको बताउनुभयो । तामाङहरु पहुँचमा पुग्न नसकेको कारण सानोतिनो कार्यक्रम गर्न पनि नसकिने अवस्थामा रहेको उहाँले बताउनुभयो । पत्रकारिता भनेको समाजको हेर्ने आँखा नभई समाज देख्ने आँखा भएको बताउनुभयो । त्यसैले पत्रकारहरुले खोजी गरेर लेख्नुपर्नेमा जोड दिनुहुँदै उहाँले विश्लेषणात्मक शैलीमा समाचार लेख्नमा जोड दिनुभयो । समाचार लेख्नु फेसबुक स्टाटस लेख्नुजस्तो नभएको बताउनुहुँदै उहाँले तामाङ भाषाको रेडियो कार्यक्रमहरुमा पनि परिमार्जन गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलान, युवा नेता एवम् घेदुङका सल्लाहकार शुभरत्न गोले लगायतले तामाङ सञ्चारकर्मीसँगको समन्वयका विषयमा आफुहरु पनि सकरात्मक रहेको भन्नुहँदै आफुहरुबिचमा भएको विभिन्न कमिकमजोरीहरु हटाउनुपर्ने धारणा राख्नुभयो । साथै निश्चित कार्ययोजना बनाएर सञ्चारकर्मीहरु अग्रसर भएमा सहयोगको लागि आफुहरु सधैँ तयार रहेको उहाँहरुले बताउनुभयो ।
कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानले ‘मकवानपुर जिल्लामा तामाङ सरोकारवाला र तामाङ सञ्चारकर्मीबिच समन्वयको अवस्था’ विषयको कार्यपत्र समेत प्रस्तुत गरेका थिए । वि।सं। २०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण हुँदै तामाङ भाषाले सञ्चार क्षेत्रमा प्रवेश पाएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाउने गरिन्छ । मकवानपुरमा ३० जनाभन्दा बढी तामाङ सञ्चारकर्मीहरु कार्यरत छन् जसमध्ये १२ जना तामाङ पत्रकारहरुले पत्रकार महासंघ मकवानपुर शाखाबाट साधारण सदस्यता प्राप्त गरेका छन् । तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष घलान महासंघको कार्यसमिति सदस्य समेत छन् ।
संघका मकवानपुर शाखा अध्यक्ष घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ भाषा लिपी प्रशिक्षण विभाग प्रमुख काजिमान थिङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य सुनिल मोक्तान, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलान, युवा नेता एवम् घेदुङका सल्लाहकार शुभरत्न गोले, तामाङ पत्रकार संघका संघीय सदस्य दुदुमाया सिन्तान, ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तान, गोले तामाङ बशं उत्थान समाज जिल्ला अध्यक्ष राजकुमार गोले, तामाङ पत्रकार संघ प्रदेश पार्षद नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौँडा नगर अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ घेदुङ बागमती गाउँ कमिटि अध्यक्ष जयबहादुर वाईबा, नेपाल तामाङ घेदुङ बकैया गाउँ कमिटि सचिव जिमी स्याङ्तान, नेपाल तामाङ घेदुङ ईन्द्रसरोवर गाउँ कमिटि अध्यक्ष बिर्जुपदम तामाङ, तामा चलचित्रकर्मी एवम् व्यवसायी सानु दोङ, गोले तामा वंश उत्थान समाजका केन्द्रिय सदस्य आकाशकुमार गोले, लोप्चन समाज मकवानपुर जिल्ला अध्यक्ष हरी लोप्चन, तामा उत्थान समाजका प्रतिनिधि अमृता स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।