शिक्षामा स्थानीय सरकारको प्राथमिकता विषयक छलफल कार्यक्रम मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ । ‘अनिवार्य, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मनहरीका ३० विद्यालयका प्रधानध्यापक, शिक्षा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रम मनहरी गाउँपालिकासँगको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान(एनसीई) जिल्ला संजाल मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा शिक्षकहरुले कोरोना भाईरस(कोभिड–१९) पछाडी विद्यालयमा स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध नहुँदा पठनपाठनमा असर परेको भन्दै त्यसतर्फ ध्यान दिन मनहरी गाउँपालिकालाई आग्रह गरेका थिए ।

स्थानीय सरकारले शिक्षामा भन्दा भौतिक विकास÷निर्माणमा बढी ध्यान दिएकोमा गुनासो गर्दै सहभागीहरुले मकवानपुरका १० स्थानीय तहमध्ये मनहरी गाउँपालिकामा विद्यार्थीको अनुपातमा शिक्षक कम रहेको लगायतको समस्या बताएका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिषचन्द्र सापकोटा, श्रोत शिक्षक पूर्णभद्र भुसाल, शिक्षा प्राविधिक सहायक संजय गुप्ता लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान(एनसीई) मकवानपुरका संयोजक वुद्ध लामाले सहजिकरण गरेका थिए । एनसीई नेपालको देशव्यापी अभियान अन्तरगत सार्वजनिक शिक्षामा सुदृढीकरणका लागि स्थानीय तहहरुलाई सुझाव पेश गर्न आधारपत्र तयार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताईएको छ ।