प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशव्यापी सडक प्रदर्शन गर्दैछ । सत्तारुढ दल नेकवाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुध्द कांग्रेस सडक आन्दोलनमा उत्रिन लागेको हो । आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्न जिल्लामा खटिएका छन् । मुख्य सचिव पौडेलका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे ‘मोनिटरिङ’ गर्ने छन् । सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ ।

त्यस्तै उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन् । २०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि कांग्रेसले सरकारविरुध्द गरेको सम्भवतः यो पहिलो पटक आक्रामक आन्दोलन हो । ओली सरकारविरुध्द पछिल्ला दिनमा आलोचना बढिरहदा कांग्रेसपनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो । तनहुँमा पुल उदघाटन गर्न पुगेका पार्टीका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि सभापति देउवाले जारी गरेको विज्ञप्तिमा सरकार सर्वसत्तावादतर्फ अगाडि बढेको आरोप लगाएका छन् । त्यसैको विरोधमा कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्दै आज देशव्यपी विरोध प्रदर्शन गर्दै छन् ।