मकवानपुरमा भएको राष्ट्रिय स्तरको महिला साइक्लिङ प्रतियोगितामा प्युठानकी भुमि बुढामगर प्रथम भएकी छिन् । हेटौंडा जेसीजले गरेको प्रतियोगितामा प्युठानकी बुढामगरले ७ किलोमिटर ८ सय मिटर ४८ मिनेट २० सेकेन्डमा पार गरेकी थिइन् । प्रथम हुँदै उनले मेडल, प्रमाणपत्र सहित नगद १८ हजार प्राप्त गरिन् ।

प्रतियोगितामा ५१ मिनेट २९ सकेन्डमा पाँचथरकी इन्द्रकला नेम्वाङले पार गर्दै दोस्रो स्थान हासिल गरिन् भने ५४ मिनेट १० सेकेन्डमा सोलुखुम्बुकी मिङ्मा याङजीङ शेर्पाले तेस्रो स्थान हासिल गरिन् । उनिहरुले मेडल, प्रमाणपत्रसहित क्रमशः १२ हजार र ६ हजार रुपियाँ हात पारे । लैङ्गिक हिंसाको १६ दिने अभियान अन्र्तगत महिलाको सहभागितामा साइक्लिङ प्रतियोगिता गरिएको जेसीजका अध्यक्ष राजदेव बानियाँ बताए । प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित सामरी पुलदेखि भीमफेदी गाउँपालिका हुँदै मकवानपुरगढी – ५ मा पर्ने गुम्बाडाँडासम्म गरिएको थियो । विजयीहरुलाई भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सम्मान गरेका थिए ।