बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली टोलीको बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव रमेश कुमार सिलवालले बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखेप सदस्य सचिव सिलवालले भरत खवास र किरण लिम्बूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बिहिबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ ।

नेपाली टोली बंगलादेशमा एक साता क्‍वारिन्टिनमा बस्‍नेछ । एक साताको क्वारिन्टिन बसाइँपछि खेलाडीको पुनः केरोना परीक्षण गरिने छ । नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गतेका लागि तय भएको छ । बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ । चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् । नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।