मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको नाम खुलेको छ दुर्घटनामा परी झापाको जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीकुमारी गिरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी– ९ बस्ने २५ वर्षीय भिमबहादुर थिङ र मकवानपुरको राजन राना मगर रहेका प्रहरीले जानकारी दिएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी गिरीको भने हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । दुर्घटनामा परी अन्य ५ जना घाइतेहरुको उपचार भईरहेको छ ।