इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रन बनायो । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिएको थियो । तर अलराउन्डर मार्कस स्टोइनिसले एक विकेट सहित मात्र ७ रन खर्चिदै दिल्लीको जित पक्का गराए ।

यो दिल्लीको सर्वाधिक दोस्रो ठूलो इनिङ हो । जारी प्रतियोगिताको सर्वाधिक ठूलो योगफल हो । दिल्लीले आइपिएल इतिहासमा बनाएको सर्वाधिक ठूलो योगफल २ सय ३१ रन छ । सन् २०११ मा किंग्स इलेभेन पन्जाबबिरुद्ध दिल्लीले ४ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दा दिल्ली सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुन पुगेको थियो । पाँचौ खेलमा दिल्ली बेंगलोरसँग सोमबार दुबईमा खेल्ने छ । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको थियो । कोलकाताले पाँचौ खेलमा बुधबार आबूधाबीमा चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । योसँगै दिल्ली चार खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बेंगलोरले ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।