नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ । शनिबार बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ ।

भर्चुवल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत सहभागी थिए । सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष असन्तुष्ट बनेको हो । देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसकेका छन् । विभाग गठन एकलौटी तवरले गरेको भन्दै इतर समूह लगातार नेतृत्वलाई दवाव दिँदै आएको छ ।