कोरियन एयरलाइन्सको जहाजले नल्याएपछि ३७ नेपाली कोरियाको विमानस्थलमै अलपत्र परेका छन् । सम्पूर्ण प्रक्रिया पुर्‍याएर शुक्रबार बिहान नेपाल आउने तयारीमा रहेका ३७ जनालाई कोरियन एरलाइन्सले विमानस्थलमै छोडेर उडेको थियो। शुक्रबार स्थानीय समयअनुसार दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्न उनीहरूले टिकट काटेका थिए।

सो उडानमा उनीहरूसँगै २ सय ३८ नेपाली स्वदेश फर्किने तय भएको थियो। तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अस्पष्ट भएको भन्दै ३७ जनालाई उतै छोडेको थियो। उनीहरुलाई करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएको थियो ।