कमेडि च्याम्पियनको उत्कृष्ट ५ बाट बाहिरिएका हाँस्यकलाकार सुमन कार्की अब विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ स्टार’को नेपाली संस्करणमा उद्घोषकको रुपमा देखा पर्ने भएको छ। आइतबार काठमाण्डौँको पाँचतारे होटलमा भएको औपचारिक घोषणा कार्यक्रममा उनी कार्यक्रम सञ्चालकको रुपमा रहने बताईएको छ।

बिबिसी स्टुडियोको फम्र्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ वीथ स्टार नेपाल’को नाम दिइएको यस सो हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने छ । आयोजित कार्यक्रममा वैशाखको पहिलो साताबाट प्रसारण सुरु गर्ने बताइएको छ। कार्यक्रमको घोषणासँगै शोका निर्णायक, सेलिब्रेटी कन्टेस्टेन्ट, करियोग्राफर पनि सार्वजनिक गरिएको छ। जजको रूपमा अहिलेसम्म अभिनेत्री गौरी मल्ल र निर्देशक तथा करियोग्राफर रेनशा बान्तवा राई पक्का भएका छन्।

कार्यक्रममा अर्का एक निर्णायकको छनोट बाँकी नै रहेको बताइएको छ। यस शोको सेलिब्रेटी सहभागीहरुमा नेपाल आइडल विजेता बुद्ध लामा, पत्रकार ऋषि धमला, अभिनेता अनुपविक्रम शाही, गायिका ज्योति मगर, नायिका सुमी मोक्तान, मैथिली अभिनेत्री पूजा ठाकुर, बाल बलाकार दिवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, फुटबल खेलाडी अनिल गुरुङ, दृष्टिविहीन सृष्टि केसी, टिकटकबाट चर्चामा आएका ट्विन्‍स दीपा दमन्ता, हास्य कलाकार उमेश राई रहेका छन्।

साथमा शोलाई युमी बलामी, राजिव कुमार कर्न, कविता नेपाली, प्रमोद कुमार भण्डारी, शुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका खत्री, सुनिल विक, प्रवीण विक, विजय पर्की, केशव थापाले कोरियोग्राफी गर्नेछन्।

६० भन्दा बढी मुलुकमा प्रसारण भइरहेको शोको नेपाली संस्करणको युनिभर्सल फम्र्याट अनुसार नै नेपालमा पनि १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगीहरूले १२ जना करियोग्राफरसँग टिमअप गर्नेछन् र उनीहरूसँगै प्रस्तुति दिनेछन्। भारतमा ‘झलक दिखलाजा’को नामबाट चर्चित यस शोका विजेताले २५ लाख नगद र गाडी पुरस्कार पाउनेछन्।

enter10nepal