सरकारले विद्यालयमा पठन–पाठन खोल्ने तयारी गरेको छ । कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाई अस्तव्यस्त भएपछि सरकार विद्यालय खोल्ने तयारीमा जुटेको हो । तीन महिनादेखि पठन–पाठन ठप्प हुँदा यतिखेर देशभर शैक्षिक गतिविधि ठप्प छ ।

नयाँ शैक्षिकसत्र सुरू भएको तीन महिना नाघिसकेको छ। विद्यालयहरूलाई स्थानीय सरकारले विदेश तथा अन्यत्रबाट आउने र कोरोना संक्रमित राख्ने क्वारेन्टाइन एवम्‌ आइसोलेसन केन्द्रका रूपमा प्रयोग गरिरहेका छन्‌।​शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोभिड–१९ को महामारी तत्काल नियन्त्रणमा नआउने सम्भावना देखिएको र लामो समयसम्म विद्यालय बन्द गरेर राख्नु उपयुक्त नभएकाले अन्य सरकारी कार्यालय जसरी नै विद्यालय पनि क्रमशः खोल्दै जाने तयारी रहेको जानकारी दिएका छन्‌।