आज साउन महिनाको पहिलो सोमबार शिवभक्तहरुले भवगान शिवको विशेष पूजा आराधना गरी वर्त बसेर मनाउँदै छन् । देशको विभिन्न स्थानमा रहको शिव मन्दिरहरुमा भक्तजनहरुले बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना गरिरहेका छन् । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।

सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो । भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर यो वर्ष अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन् ।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।